पुरन रौनियार
जनकपुरधाम, जेष्ठ १४ :
समाजसेवी भन्ने वितिकै हाम्रो सोचाइमा अनुभवी बुजुर्ग व्यक्तिको परिकल्पना हुन सक्छ तर समाजसेवा गर्ने उमेर हदबन्दी जनकपुरधामका यि युवाहरुले तोडेका छन् । कोरोना महामारीबाट बच्ने एउटै उपाय वा सुत्र हो व्यक्तिको इमिन्युटी पावर सक्षम हुनु र यसै धैयका साथ केहि कलिला युवाहरु नाम मात्रका लागि नभई बास्तवमै व्यक्तिहरुको इम्युन सिष्टमलाई नै मध्येनजर गर्दै फलफुल देख अन्डा विरयानी र माछामासु सम्मको खाना वितरणमा तल्लिन छन् ।

जनकपुरधामका भर्खरका युवाहरु कैयुम राइन, मनिषा साह, आकाश साह, अक्ष्य अधिकारी र वसन्त साह सहित यिनिहरुको समुह विहानै देखि भोजन व्यवस्थापन र वितरणको तयारी गरिरहेका हुन्छन । महामारीको यस घरिमा उनीहरुको आफनो ज्यानको प्रवाह नगरि भोकाहरुलाई भोजन खुवाउनका लागि दैनिक निरन्तर खटिरहेका छन् । खाना लिनेहरुले उनीहरुलाई कुनै पैसा पनि तिर्नु पर्दैन । जबकि खानामा दाल, भात, तरकारी र अचाँर देखि अन्डा विरयानी सम्म खुवाइन्छ ।

उनीहरुको प्राथमिकतामा सडक पेटीका गरिव विपन्न, अस्पतालका कुरुवा, सुरक्षागार्ड र सफाईकर्मी देखि सुरक्षाकर्मी सम्म हुन । महामारीको यस घरिमा अग्रपन्तीमा काम गर्नेहरु देखि दुःख र पिडा सहित अस्पताल बसाईमा आफनो दैनिकी बिताउन बाध्य विरामी र अस्पतालका कुरुवाहरुलाई यि युवाहरु पोसिलो खाना खुवाउदै धर्म र परोपकारका उत्तम कार्य प्रदर्शन गरिरहेका छन् । सुज्जीको हलुवा, काजु देखि अव माछा फ्राई र मासु सम्म खुवाउने तयारी उनीहरुको छ ।

अभियानीहरुको हातमा गलभ्स, मुखमा मास्क र फेस शिल्ड सहित सुरक्षित प्रदुशन प्रुफ प्याकेटमा खाना, चम्चा सहित सुरक्षाका सबै मापदण्ड अपनाएर यि युवाहरु आफु भन्दा पहिला भोकाहरुलाई खुवाउने गरेका छन् । हेर्दा फेसबुकमा दैनिक भेटने यि फोटोहरु समान्य लाग्न सक्ला तर उनीहरुको यो काम जति प्रशंसा गरेपनि कम छ । सवैका छोराछोरीको स्वास्थ्य परिवारजनका लागि उतिकै अमुल्य रहेको यस अवस्थामा उनीहरुको परिवारजनको सहयोग र सदभाव पनि सलामयोग्य छन् ।

जनकपुरधाममा यि भर्खरका युवाहरु सम्मिलत महामारी नियन्त्रण र व्यवस्थापन समिति (पिसीएमसी) गठन गरिएको छ । उनीहरु जनकपुरधाम सहित महोतरीको जलेश्वरमा समेत यो समिति खडा गरि समाजको सेवामा तत्पर रहेका छन् । समितिका संयोजक कैयुम राइन भन्छन, ‘महामारीमा अति नै प्रताडितहरुलाई खाना खुवाउन पाँउदा धेरै खुसी छौं ।’ उनले १५ जनाको समुह खाद्यान्न व्यवस्थापन र वितरण सक्रिय रहेको बताउछन् ।

पर्दा पछाडिका हिरो (सहयोगी)हरु

यि युवाहरुलाई यस पुनित कार्यमा हौसला र तन मन धन प्रदान गर्ने पर्दा पछाडिका हिरोहरु पनि छन् । समाजसेवी जेपी साह, डा.कृष्णचन्द्र साह, काव्या अस्पतालका सञ्चालक एस.के. सिंह, अमेरिका स्थित मधेशीहरुको संस्था माँ (मधेशी एशोसिएशन इन अमेरिका), जनकपुरधामकको मोनाष्टिक स्कुल, धनुषा स्काउटका चन्दन कौसिक र कुन्दन झा सहितका धेरै सहयागीहरु यस अभियानमा सहयोग गरिरहेका छन् ।

डा.कृष्णचन्द्र साह

महामारीमा विरामी परेका मात्र होइन विरामी लिएर अस्पताल आएकाहरु पनि उतिकै जोखिम र पिडामा हुन्छन । यस पिडा, तनावको बेलामा नाम मात्रको नभई यस बेलामा रुचने, शरिरलाई फाइदा पनि हुने किशिमको खाना वितरण हुनु सराहनिय रहेको अभियानका सहयोगी समाजसेजी डा.कृष्णचन्द्र साह बताउछन् । उनले भने, ‘युवाहरुको सक्रियता, जोश र हिम्मतको जति तारिफ गरेपनि कम हुन्छ, उनीहरुको कामले सहयोगी हातहरु पनि थपिदै गएपछि अभियान अझै प्रभावशाली हुनेमा विश्वस्त छु ।’

यि युवाहरु खाना मात्र होइन, अक्सिजन आपुर्ती, शव व्यवस्थापनमा सहभागिता र पहलकदमी, बेडको आपुर्ती र ब्लड आपुर्ती देखि दिन दुखीका लागि आवयश्क हरेक कदममा साथ दिने गरेको सहयोगी साह र डा. एस.के. सिंहले बताए । उनीहरुको शाहस, हिम्मत र जुनुन देखेर आफुहरु सक्दो सहयो गरिरहेको उनीहरुको भनाई छ । डा. साहले अव माछा फ्राई र मासु समेतको प्रयोगका लागि तयारी भइरहेको बताए ।

जनताको दुःखको यस समयमा तिनै तहको सरकार राजनिति र जनप्रतिनिधीहरु आ–आफनो व्यक्ति स्वार्थमा तल्लिन रहेका वेला युवाहरुको यो कदम स्वागत र सम्मान योग्य रहेको मानाष्टिक स्कुलका सञ्चालक डा.सोनु साह बताउछन् । युवाहरुको प्रस्तुत कार्यले समाजमा युवाहरुको सम्मान बढने र युवाहरुलाई कुलत भन्दा यस्ता पुनित कार्यमा सहभागिताका लागि प्रेरणा प्रदान हुने सहयोगी टिमको भनाई छ ।