एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :
नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिले पहिलो बैठकवाट कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादव परिवारलाई तत्काल ५१ हजार रुपैया राहत सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आईतवार भएको भर्जुअल मिटिङ्गमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । भर्जुअल मिटिङ्गमा ११ बुँदामा छलफल गरिएको छ ।
मिटिङ्गबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति समेत चयन भएको छ । महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा सो समिति चयन हुने भएको छ ।

त्यसैगरी संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्र्ने, दैनिक समाचार संकलन गर्ने पत्रकारहरुका लागि तत्काल सुरक्षा सामाग्रीको व्यवस्था हुनुपर्ने, कार्य समितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्नेमा छलफल भएको छ ।

त्यस्तै मृतक परिवारका सन्तानहरुलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रत्येक जिल्ला जिल्लामा पत्रकार स्वास्थ्य बिमा गर्नुपर्ने र लोकल्याणकारी विज्ञापनको माँग गर्नुपर्ने रहेछ । त्यसैगरी बन्दाबन्दीको अवस्थामा विशेष गरी प्रिन्टमिडियालाई मध्येनजर गरी प्रेस काउन्सिलमा समयमा पत्रिका नपुग्ने सम्भावना रहेकोले लोकल्याणकारी वापत पाउने विज्ञापनको रकम कट्टा नगर्नका लागि समेत पहल गर्नुपर्ने निर्णय भएको छ । तत्काल खाता सञ्चालनका लागि इमेलबाट नै माइन्टिङ्ग तयार गर्ने र असोज मसान्तभित्रमा जनकपुरधाममा कार्यालय सञ्चालनमा ल्याउने विषयमा समेत छलफल भएको छ ।

यस अघि अध्यक्ष कर्णको अगुवाईमा प्रदेश २ सरकारलाई ज्ञापन पत्र बुझाउदै कोरोनाका कारण ज्यान गुमाएका पत्रकारहरुलाई प्रदेश २ सरकारले उपलब्ध गराउने घोषणा गरिएको राहत उपलब्ध गराउन सहितका मांगहरु राखिसकिएको छ ।