माला राय
जनकपुरधाम, बैशाख २९ :
समाजिक सञ्जालमा कोरोना संक्रमित भई मृत्यु भएका एक व्यापारीको शव व्यस्थापनको तस्वीर पोष्ट गरेका जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बुधवार साँझ एकदम थकित सुनिए । एसपी खवरसंगको कुराकानीमा आफना अहिलेको दैनिकी सुनाउदै महासेठले भने, ‘सर शव व्यवस्थापनको समेत कुनै योजना र तयारी छैन के गर्ने, कसलाई भन्ने ?’

जनकपुरधाम उपमहागनरपालिका वडा नं. १० का एक व्यवसायीको जनकपुरधामको धनुषा अस्पतालमा मृत्यु भएपछि कोरोना संक्रमित सो शव व्यवस्थापन गर्न करिव पाँच घण्टा भरपुर प्रयास गर्दा बल्ल सफल भएको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा भनसुन गरे उनले भने, ‘त्यसपछि एकजना चिनजानकै निजि एम्बुलेन्सले सहयोग गरेपछि मात्र बल्ल नेपाली सेना आएर शव व्यवस्थापन भयो ।’

एकातर्फ ज्यान बचाउन उपचार, अस्पताल, बेड र अक्सिजनको अभाव छ भने अर्को तर्फ कोरोनाले मृत्यु भइसक्दा पनि शव व्यस्थापनको पनि कुनै वास्ता नरहेको उनले सुनाए । धन्य एकजना निजि एम्बुलेन्स सञ्चालकले सहयोग गरेपछि सेनाले शव व्यवस्थापन गरिदिएको उनले बताए । उपमहानगरपालिका, स्थानिय प्रशासन कसैसंग पनि कुनै केहि प्रक्रियागत योजना नै नरहेको उनको दुःखेसो थियो ।

महासेठले आफुहरु सिडिओ सावलाई भन्सारमा थन्किएको गाडीलाई निकालेर भए पनि कम्तीमा शव व्यवस्थापनको तयारी गर्नुपर्ने र यस्तो वेला मानविय समवेदना बुझनु पर्ने भनेपनि भोली सिडिओ सावले मिटिङ्ग बोलाउनु भएको उनको कथन छ ।