एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : जनकपुरधाममा कुल ६२ लाख बजेटमा जनकपुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको तयारी पूरा भएको छ । महोत्सवका आयोजक संवाद फाउण्डेशनले बुधवार पत्रकार सम्मेलन गरेर फागुन १६ देखि १८ गते सम्म हुने महोत्सवको तयारी पूरा भएको जानकारी गराएको छ ।
फाउन्डेशनका अध्यक्ष कुमार भास्करले ६२ लाख लगानीमा जनकपुरमा पहिलो पटक हुन गइरहेको महोत्सवमा विभिन्न १ सय ४४ भन्दा बढी देशका तीन हजार पाँच सय भन्दा बढी चलचित्रहरुको आवेदन प्राप्त भएको जानकारी दिए । उनका अनुसार महोत्सवका लागि १० विधाबाट चयन भएका कुल ७८ वटा फिल्म मात्र प्रदर्शन गरिनेछ । प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने छ ।
फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदानप्रदानको अवसर सृजना गर्ने उद्देश्यका साथ चलचित्र महोत्सवको आयोजना भइरहेको आयोजकको दावी छ ।
बिश्व सिनेमा जगतलाई स्थानीय क्षेत्रीय सिनेमा र सर्ट फिल्महरु संग जोडने सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरु सम्म पुर्याउँदै, अन्य देशका चलचित्र र कथाहरु संग गहिरो सम्वन्ध जोडदै नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य र सामिप्यता समेत बढाउन महोत्सवले मद्दत गर्ने तर्क आयोजकको छ ।
मैथिली विकास कोषको सभा भवनमा हुने महोत्सव भारतका सबै भन्दा बढि ४ सय ५७, इरानका ३ सय ६०, स्पेनका १ सय ९०, फ्रान्सका १ सय ८२, ब्राजिलका १ सय ७४ र चिनका १ सय १० चलचित्रले आवेदन दिएको ।
मैथिली भाषाका ८ वटा क्षेत्रीय सर्टमुभिहरु पनि सो अवसरमा प्रदर्शन हुन लागेको जनाइएको छ । पत्रकार सम्मेलनमा फ्रान्सबाट आएकी चलचित्र कर्मी तथा महोत्सवकी निर्णायक कोलेट सहितको उपस्थिती थियो ।