एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ :
स्थापना भएको ३१ वर्षपछि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ । वि.सं. २०५२ मा स्थापना भएको संघले लामो समयपछि विधिवत् रूपमा कार्यालय सञ्चालनमा ल्याएको हो ।
संघका अध्यक्ष राजीवकुमार साहका अनुसार यसअघि बैठक तथा छलफलका लागि व्यवसायीका पसलमा निर्भर हुनुपर्ने बाध्यता थियो । अध्यक्षमा निर्वाचित हुँदा व्यवसायीमाझ गरेको प्रतिबद्धताअनुसार कार्यालय सञ्चालनमा ल्याउन सफल भएको उनले बताए ।
कार्यालय सञ्चालनमा आएसँगै संघका नियमित बैठक, व्यवसायीबीच छलफल तथा संस्थागत गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा संघका पूर्वअध्यक्षहरू पवनकुमार ठाकुर, अमरनाथ गुप्ता तथा सल्लाहकारहरू मनिषरमण साह र शंकरप्रसाद साहलगायतको उपस्थिति थियो ।

