एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ :
दशैँको अवसरमा जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार सुरु भएको छ । विगतका वर्षमा घटस्थापनादेखि सञ्चालन हुँदै आएको दशैँ बजार यस वर्ष भने एक दिनअगावै सुरु गरिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको दशैँ बजारको उद्घाटन मधेस प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ठाकुरले आर्थिक मन्दीका कारण प्रभावित व्यवसायी तथा व्यापारीलाई प्रोत्साहन गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । उनले जनकपुरधामको व्यापार व्यवसायको विकासका लागि स्थानीय व्यापारीहरू नै अग्रसर हुनुपर्ने बताए ।
व्यापारिक गतिविधि विस्तार गर्न गोपाल धर्मशालामा मात्र सीमित नभई रंगभूमि मैदान, तिरहुतिया गाछीलगायतका स्थानमा पनि व्यापार मेलाहरू आयोजना गर्नुपर्ने उनको भनाइ थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अनुसार यस वर्षको दशैँ बजारमा ११५ भन्दा बढी स्टल रहनेछन् । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीको बिक्री वितरणलाई प्राथमिकता दिइने बताए । दशैँ बजारमा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, साबुन, सर्फ, अगरबत्ती, प्लास्टिकका भाँडाकुँडा, लत्ताकपडा, जुत्ता–चप्पललगायतका सामग्री बिक्रीका लागि राखिएका छन् ।
पुर्व अध्यक्ष जितेन्द्र महासेठले घरेलु उत्पादनको बिक्री वितरणले स्थानीय उत्पादन वृद्धि हुनुका साथै उपभोक्ताले सस्तो र सर्वसुलभ मूल्यमा सामग्री प्राप्त गर्न सक्ने बताए । बजारमा व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखिने उल्लेख गर्दै उनले सुरक्षाका लागि सीसी क्यामेरासमेत जडान गरिएको जानकारी दिए ।
दशैँको किनमेललाई लक्षित गरी सञ्चालन गरिएको बजारले स्थानीय व्यापार प्रवर्द्धन गर्नुका साथै घरेलु उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

