एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले आयोगको ३६औँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको छ ।
अख्तियार बर्दिवासका कार्यालय प्रमुख दिनेश पराजुलीले प्रदेश प्रमुख कर्णलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनअनुसार आयोगमा परेका कुल ४० हजार ८४२ उजुरीमध्ये मधेश प्रदेशसँग सम्बन्धित १० हजार ७४६ वटा छन् । यो कुल उजुरीको २६ दशमलव ३१ प्रतिशत हो । उजुरीको संख्याका आधारमा मधेश बागमतीपछि दोस्रो स्थानमा छ ।
मधेशका उजुरीमध्ये ७ हजार ३७० अर्थात् ६८ दशमलव ५८ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् । प्रदेश सरकारसँग सम्बन्धित १ हजार ४७५ र संघीय सरकारसँग सम्बन्धित १ हजार ९०१ उजुरी छन् ।
प्रदेश सरकारसँग सम्बन्धित उजुरीमध्ये भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३४५ वटा छन् । त्यस्तै, वन तथा वातावरण क्षेत्रका १०१ उजुरी रहेका छन् ।
जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५२८ उजुरी परेका छन् भने धनुषा २ हजार १०१ उजुरीसहित दोस्रो स्थानमा छ । पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र रौतहटमा पनि एक हजारभन्दा बढी उजुरी दर्ता भएका छन् ।
देशभर सबैभन्दा बढी उजुरी पर्ने १० जिल्लामध्ये काठमाडौं, रुपन्देही र कास्कीबाहेक सात जिल्ला मधेश प्रदेशका रहेका छन् । प्रतिवेदनले मधेशमा विशेषगरी स्थानीय तहसँग सम्बन्धित उजुरीको चाप उच्च रहेको देखाएको छ ।

