एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
मधेश प्रदेशमा उद्योग दर्ता प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ । उद्योग दर्ता प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको हो । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत उद्योग विभाग पर्साको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले अनलाइन उद्योग दर्ता प्रक्रियाको शुभारम्भ गरे ।
अनलाइन प्रणालीको शुभारम्भ गर्दै मन्त्री पटेलले प्रविधिको प्रयोगमार्फत इ–गभर्नेन्स र पारदर्शी सेवा प्रवाहलाई अघि बढाउन सहयोग पुग्ने बताए । उनले प्रणाली सञ्चालनमा आएपछि मधेश प्रदेशका उद्यमी तथा नवउद्यमीको समय, श्रम र खर्च बचत हुने बताए ।
उद्योग दर्ताका लागि कार्यालयमा पटक–पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई सहज बनाउन अनलाइन प्रणालीले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रणाली सञ्चालनमा आएपछि उद्योग दर्ताका लागि आवश्यक विवरण तथा कागजात अनलाइनमार्फत पेस गर्न सकिने जनाइएको छ । यसबाट कार्यालयमै उपस्थित भएर लामो प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुनुका साथै दर्ता प्रक्रियामा पारदर्शिता र सेवा प्रवाहमा छरितोपन आउने अपेक्षा गरिएको छ ।
अनलाइन उद्योग दर्ता प्रक्रियाले उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई आवश्यक सेवा लिन सहज हुने बताइएको छ ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक रिया साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका उपसचिव रोहित पर्सैला, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोष साहलगायतको उपस्थिति थियो ।