एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ :
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार माध्यमका लागि विनियोजित लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगरी पूर्ण रूपमा कार्यान्वयन गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेको छ ।
महासंघले मंगलबार अर्थमन्त्री युवराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रमा आर्थिक संकट बढिरहेका बेला विज्ञापनको बजेट घटाउँदा सञ्चार माध्यम थप प्रभावित हुने जनाएको हो ।
सरकारी विज्ञापनमा आएको कमी र आम्दानी घटेका कारण पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यम आर्थिक दबाबमा रहेको महासंघले जनाएको छ । लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापनादेखि सामाजिक रूपान्तरणसम्म सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि महासंघले उल्लेख गरेको छ ।
चालु आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनका लागि बजेट शीर्षक नम्बर २२५२२ मा ७० लाख रुपैयाँ विनियोजन गरिएकोमा वित्तीय समायोजनका नाममा ५० प्रतिशत रोक्का गरिएपछि ३५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकिने अवस्था आएको महासंघले जनाएको छ ।