एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ :
मधेश प्रदेश सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
अर्थ मन्त्रालय, मधेश प्रदेशको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाजको सह आयोजनामा जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको सार्वजनिक वित्तीय प्रणालीलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन प्रतिवेदनले औँल्याएका विषयलाई सुधारको आधार बनाउनुपर्ने बताउनुभयो । बजेट निर्माणदेखि कार्यान्वयन र खर्च व्यवस्थापनसम्म सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री युवराज भट्टराईले प्रतिवेदनले प्रदेशको वित्तीय प्रणालीका सबल पक्षसँगै सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । प्रतिवेदनका आधारमा सुधारको कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी अर्थ क्षेत्रका पत्रकार तथा सरोकारवालाले बजेट कार्यान्वयन, वित्तीय अनुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।