एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ :
विजयदशमीलाई लक्षित गर्दै जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार सञ्चालन हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालन हुँदै आएको दशैँ बजार यस वर्ष घटस्थापनाभन्दा एक दिनअघि नै उद्घाटन गर्ने तयारी गरिएको छ ।
दशैँ बजार सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
संघका अनुसार दशैँ बजारमा दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वमा आवश्यक पर्ने विभिन्न सामान एउटै स्थानबाट सुपथ तथा सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिनेछ । बजारलाई व्यवस्थित बनाउन स्टल राख्ने व्यवसायीले आफ्ना सामानको मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिने अध्यक्ष भण्डारीले बताए ।
उनका अनुसार मूल्यसूची राख्दा उपभोक्ताले सामानको मूल्यबारे स्पष्ट जानकारी पाउने र बजारलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।
आर्थिक मन्दीका कारण बजार क्षेत्र प्रभावित भइरहेको अवस्थामा दशैँ बजारले जनकपुरधामको व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए ।
‘अहिले जनकपुरधामको बजार मात्र होइन, पूरै नेपाल आर्थिक मन्दीको अवस्थामा छ । यो दशैँ बजारबाट जनकपुरधामको बजार चलायमान बनाउन मद्दत पुग्नेमा विश्वस्त छु,’ उनले भने ।
संघले विगतका वर्षभन्दा यस वर्ष दशैँ बजारलाई थप व्यवस्थित बनाउने तथा उपभोक्तालाई सहज हुने गरी आवश्यक सुविधा थप गर्ने तयारी गरेको जनाएको छ ।
यसअघि अष्टमीसम्म मात्र सञ्चालन हुँदै आएको दशैँ बजारलाई यस वर्ष भने विजयदशमीसम्म निरन्तरता दिने तयारी गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ ।