एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४:
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले राज्यको दायित्व कर उठाउने मात्र नभई नागरिकलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउनु र व्यवसायलाई टिकाउ बनाउन सहयोग गर्नु पनि रहेको बताएका छन् ।
नेपाल ईटा उद्योग महासंघ मधेशको चौथो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले व्यवसायीबाट कर उठाउने मात्र नभई व्यवसाय कसरी टिकाउ र व्यवस्थित बनाउन सकिन्छ भन्ने दिशामा समेत राज्यले काम गर्नुपर्ने बताए ।
प्रदेश सरकार कुनै पनि व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा आत्मनिर्भर रहेको ईटा उद्योगबाट पछिल्लो समय व्यवसायी पलायन हुनु चिन्ताजनक विषय भएको बताए ।
ईटा उद्योगको संख्या घट्दै जानुको कारण पहिचान गरी समस्या समाधानका लागि व्यवसायीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । उनले ईटा व्यवसायीलाई समयअनुकूल प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री बन्नसमेत आग्रह गरे ।

महासंघको चौथो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले मधेश प्रदेशमा कुनै समय करिब ७ सय ईटा उद्योग सञ्चालनमा रहेकामा अहिले ३ सय २० वटा उद्योग मात्र सञ्चालनमा रहेको बताएका थिए ।
कोरोना महामारीपछि देखिएको आर्थिक मन्दी तथा राज्यबाट अपेक्षित सहयोग नपाउँदा करिब ३ सय ८० ईटा उद्योग बन्द भएको उनीहरूको भनाइ थियो । उद्योग बन्द हुँदा करिब ८० हजार रोजगारीसमेत गुमेको उनीहरूले बताएका थिए ।
नेपाल ईटा उद्योग महासंघ मधेशका अध्यक्ष विक्रम साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह, नेपाल ईटा उद्योग महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अवाल, संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकारलगायतको उपस्थिति थियो ।