एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
देशभरका फैन्सी, कपडा तथा रेडिमेड व्यवसायीहरूको साझा छाता संगठनका रूपमा फैन्सी व्यवसायी महासंघ नेपाल गठन गरिएको छ।
चितवनको भरतपुरमा सम्पन्न महासंघको प्रथम राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै २२ जिल्लाका व्यवसायीलाई एक सूत्रमा आबद्ध गर्ने उद्देश्यसहित संगठनलाई औपचारिक रूपमा स्थापना गरेको हो।
अधिवेशनबाट जनकपुरधामका व्यवसायीहरूले पनि केन्द्रीय नेतृत्वमा उल्लेखनीय उपस्थिति जनाएका छन्। जनकपुरधाम कपडा तथा रेडिमेड व्यवसायी संघका वरिष्ठ सल्लाहकार अशोक कुमार साह महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् भने संघका अध्यक्ष सन्दीप साह केन्द्रीय सदस्यमा चयन भएका छन्।
महासंघको केन्द्रीय अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित भएका छन्। अधिवेशनले ३१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत गठन गरेको छ।
नवनिर्वाचित उपाध्यक्ष अशोक कुमार साहले देशभरका फैन्सी तथा रेडिमेड व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री नीति निर्माणका लागि पहल तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले साना तथा मध्यम व्यवसायीहरूलाई संगठित गर्दै व्यवसाय क्षेत्रका चुनौतीहरूको समाधान खोज्न महासंघ सक्रिय रहने बताए।
त्यस्तै, केन्द्रीय सदस्यमा निर्वाचित सन्दीप साहले महासंघको स्थापना व्यवसायीहरूको दीर्घकालीन आवश्यकताको परिणाम भएको उल्लेख गर्दै देशका विभिन्न जिल्लामा रहेका व्यवसायीबीच समन्वय, सहकार्य र एकता अभिवृद्धिमा संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।