एसपि रिपोर्टर
जनकपुरधाम, असार १३ :
सरकारद्वारा सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरुले नगरमा विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा तथा जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा सुनचाँदी व्यवसायीहरुले नगरपरिक्रमा सहित विरोध प्रदर्शन गरेका हुन् ।

सुनचाँदी व्यवसायीहरुले सरकारको यो निर्णयविरुद्ध नारावाजी गर्दै जनकपुरधामको सोनरपट्टीबाट शुरु भएको विरोध रैली भानुचोक, जनक चोक, रामचोक हुँदै फेरी सोनरपट्टीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका उपाध्यक्ष राजीव कुमार साह ( चन्दन ) ले सरकारको निर्णय नसच्याएसम्म व्यवसाय बन्द राख्ने कार्यक्रम रहेको जनाउँदै भने, ‘विलासिता कर र गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नभएसम्म हामी आन्दोलनमा रहनेछौं ।’
उनले सरकारको कर प्रणालीप्रति आपत्ति जनाउँदै भने, ‘सुनलाई कानूनी रूपमा चल सम्पत्ति मानेको अवस्थामा त्यसमा विलासिता कर लगाउनुको कुनै औचित्य छैन । यो कर व्यवसायीमाथि उठीवास गराउने प्रकृतिको छ ।’

व्यवसायीहरुले विलासिता कर तत्काल हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याट पुनर्विचार गर्नुपर्ने, र भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्ने माग अघि सारेका छन् । यी मागहरु सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।




