एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १२ : एक तथ्याङ्कका अनुसार चालु आ.व.मा मधेश प्रदेशको अर्थतन्त्रको आकार ८ खर्व ३ अर्व ९७ करोड रहेको छ भन्ने आर्थिक वृद्विदर उपभोक्ता मुल्यमा ४.५ र आधारभुत मुल्यमा ३.८८ प्रतिशत रहेको छ । सोमवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय धनुषाले संयुक्त रुपमा आयोजना गरेको प्रादेशिक लेखा अनुमान सार्वजनिक कार्यक्रममा प्रस्तुत विवरण अनुसार यस्तो अनुमानित तथ्य प्रस्तुत गरिएको छ ।
सबै भन्दा बढि आव २०७५÷०७६ मा ८ प्रतिशतमा पुगेको मधेशको आर्थिक वृद्विदर आव ०७६÷०७७ मा एकैपटक –२.०३ (माइनस) मा झरेको थियो । त्यसपछि ०७७÷०७८ मा ४.४८, ०७८÷०७९ मा ५.०९ प्रतिशतमा पुगेको आर्थिक वृद्विदर ०७९÷०८० मा एकैपटक १ प्रतिशतमा झरेको थियो । त्यसपछि विस्तारै उक्लिदै गएको आर्थिक स्तर चालु आवमा ४.५ प्रतिशतमा पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ । विगत तिनवर्षको तुलनामा मधेशको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्विदर बढदै गएको देखिन्छ ।
अर्थन्त्रको आकार र प्रादेशिक योगदान
आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.५२ प्रतिशत, कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको छ। गत आर्थिक वर्ष २०८०÷८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ।

आर्थिक वर्ष २०८१÷८२ का लागि प्रारम्भिक अनुमान गरिएको प्रादेशिक अर्थतन्त्रको आकार चित्र १ मा प्रस्तुत गरिएको छ । नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८÷१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको पाइन्छ । नियमित रूपमा यस्ता अनुमान प्रकाशन गर्ने कार्य आर्थिक वर्ष २०२१÷२२ देखि भएको देखिन्छ । यसै क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान प्रकाशन गरिसकेको छ ।

प्रादेशिक आर्थिक वृद्धिदर
आर्थिक वर्ष २०८१÷८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (५.५१ प्रतिशत) मा र त्यसपछिको धेरै बागमती प्रदेश (५.१८ प्रतिशत) मा देखिन्छ। त्यसैगरी, सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश (३.३२ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान रहेको छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकि प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१÷८२ को प्रारम्भिक अनुमान, आर्थिक वर्ष २०८०÷८१ को संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९÷८० को अन्तिम तथ्याङ्कबमोजिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चित्र २ मा प्रस्तुत गरिएको छ। जसअनुसार आर्थिक वर्ष २०७९÷८० देखि आर्थिक वर्ष २०८१÷८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुदै गएको देखिन्छ। यद्यपी, आर्थिक वर्ष २०८०÷८१ बाट आर्थिक वर्ष २०८१÷८२ मा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ।

औद्योगिक वर्गीकरणअनुसारको प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ। आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ। त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। बागमती, मधेश र कर्णाली प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलाप, मधेश तथा कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ।
आर्थिक वर्ष २०८१÷८२ मा सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक रहेको देखिन्छ। चालु वर्ष औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँस (१३.८२ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी र कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा भने यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ। त्यसैगरी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा खानी तथा उत्खनन्; कोशी र सुदूरपश्चिम प्रदेशमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन; मधेश प्रदेशमा शिक्षा र गण्डकी प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ।
मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि करिब रु. ८ खर्ब ४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्ष २०८०÷८१ मा करिब रु. ७ खर्ब ५३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०÷८१ मा पनि यस प्रदेशले १३.१६ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्ष २०८०÷८१ मा ३.७४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्य क्षेत्र (३६.७३ प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१५ प्रतिशत) को रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आर्थिक वर्ष २०८०÷८१ मा पनि कृषि क्षेत्र (३५.९२ प्रतिशत) को योगदान सहित अग्रस्थानमा हुने र खानी तथा उत्खनन् क्षेत्र (०.१५ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ। मधेश प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस क्षेत्र (९.८३ प्रतिशत) को र सबैभन्दा थोरै शिक्षा क्षेत्रको (१.४४ प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आर्थिक वर्ष २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्र (२१.१४ प्रतिशत) र सबैभन्दा थोरै (–२.३३ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन
आर्थिक वर्ष २०८१÷८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ। गत आर्थिक वर्ष २०८०÷८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ। यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ। प्रादेशिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विस्तृत विवरण चित्र ३ मा प्रस्तुत गरिएको छ।

सो अवसरमा तथ्याङ्क कार्यालयका निर्देशक दिनेश भट्टराई, मधेश प्रदेश निति आयोगका उपाध्यक्ष डा. सोहन साह, मधेश सरकार अर्थमन्त्रालयका सचिव रामकुमार महतो, वन तथा वातावरण मन्त्रालयका सचिव उद्वव बहादुर घिमिरे र तथ्याङ्क समन्वय कार्यालय धनुषाका निम्ति तथ्याङ्क समन्वय अधिकारी शिव नारायण महतो सहितको उपस्थिति थियो । निर्देशक भट्टराईले तथ्याङ्क विवरण प्रस्तुत गरेका थिए ।


