एसपि रिपोर्टर
जनकपुरधाम, जेष्ठ ३ : क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैया स्थित सञ्चालित जनकपुरधामकै लागि आकर्षणको थप एक थलो वण्डरलैण्ड वाटरपार्कमा शनिवार भएको तोडफोड र क्षतिको घटना प्रति जनकपुरधाम उद्योग बाणिज्य संघ सहितका व्यापारी अगुवाहरुले आपती जनाउदै जनकपुरधाम विकास विरुद्वको षडयन्त्र भनेको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष र हाल नेपाल उद्योग बाणिज्य संघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले घटना प्रति दुःख व्यक्त गर्दै शनिवार वाटरपार्क बुक गराएर पनि प्रतिनिधी नपठाएका कृष्ण फाउन्डेशन प्रति सन्देश व्यक्त गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कृष्णा फाउन्डेसनले यो वाटरपार्क आजको (शनिवार )लागि बुक गरेको थियो । यसको क्षमता ७०० हो भन्ने बिदित हुदाहुदै पनि १२०० भन्दा बढी बिक्रि किन गरियो ? कृष्णा फाउन्डेसनको प्रतिनिधिहरुको उपस्तिथि किन थिएन ? वहाहरुको उपस्थिति भएको भए अवस्था यस्तो हुदैनथियो होला। यसको जिम्मेवार कृष्णा फाउन्डेसन हो या होइन? हुनत गत हप्ताको शनिबार पनि १५०० बढी हुदा नियन्त्रण मै थियो संबंधित प्रतिनिधिहरु हुदा ।’
वाटरपार्क जनकपुरधामको थप एक आकर्षणको केन्द्रको रुपमा थियो । तर जुन किशिमले घटना भएको छ, यस्मा धेरै शंका उपशंकाहरु उब्जिएको छ । भर्खरका हजारौं किशोरहरुलाई एक ठाँउमा जम्मा गरेर पनि सुरक्षा व्यवस्था दुरुस्त नबनाईनुले पनि नियोजितकै संकेत गर्दछ ।
उनले अगाडि लेखेका छन्, ‘यसको सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्दछ र हाम्रा अभिभावकहरुले आ–आफ्ना सन्तानहरुलाइ जिम्मेवारी सिकाउनु नैतिकता सिकाउनु आजको अपरिहार्यता हो । ’
