एसपी रिपोर्टर
काठमाण्डौं, चैत्र १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ ले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शुक्रबार बालुवाटारमा नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्तासँग भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–जापानबीच सरकारस्तर र जनस्तरमा रहेको लामो सम्बन्ध अब व्यापार तथा आयात–निर्यातमा पनि विस्तार भइरहेको बताए।
“नेपालीहरू राम्रो रोजगारीका लागि जापान गएका छन्। नेपालबाट फापर जापान निर्यात भएको छ भने जापानबाट गोल्डेन ट्राउट नेपाल भित्रिएको छ। जनस्तरका यस्ता सम्बन्धका अनेक आयाम छन्,” ओलीले भने। “हामीबीच अब्बल मित्रता छ, जसमा कुनै समस्या छैन। हाम्रो सम्बन्ध साकुराजस्तै फुलिरहेको छ। यसलाई सूचना प्रविधिको सहयोगमा अझ उच्चस्तरमा लैजान आवश्यक छ।
”प्रधानमन्त्री ओलीले जापानले युद्धपछिको पुनर्निर्माणबाट विकासमा हासिल गरेको सफलतासमेत उदाहरणीय रहेको बताए। साथै, विश्वमा शान्ति कायम गर्न नेपाल निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।





