एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
जनकपुरधाम तथा आसपासका क्षेत्रका व्यापार तथा उद्योग व्यवसायलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायीहरू र सामानहब नेपाल बीच छलफल भएको छ।
आइतबार जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा सामानहब नेपालका प्रतिनिधिहरूसँग डिजिटल प्रविधिको प्रयोग गरी व्यापारीहरूले थोकमा सामान किनबेच गर्ने प्रक्रियाबारे छलफल गरिएको थियो। सो अवसरमा सामानहब नेपालको प्ल्याटफर्मको प्रयोग विधि तथा थोक सामान कारोबारमा यसले पुर्याउने योगदानबारे जानकारी प्रस्तुत गरिएको थियो।
सामानहब नेपालका संस्थापक संजय कुमार साहले उक्त प्लेटफर्म खुद्रा ग्राहकहरूका लागि नभई थोक व्यापार गर्ने उद्योग तथा व्यवसायीहरूका लागि तयार गरिएको जानकारी गराए। उनले यस प्रविधिबाट व्यवसायीहरूले थोक कारोबारमा सहजता र पारदर्शिता प्राप्त गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा जनकपुरधाम उद्योगवाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साह , पूर्व अध्यक्ष निर्मल चौधरी, उपाध्यक्ष लक्ष्मण साह र कोषाध्यक्ष परमेश्वर साह लगायतका उपस्थित थिए।