एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
नेपाल उद्योग वाणिज्य महासंघ – मधेश प्रदेशले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनामा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघका अध्यक्ष अशोक कुमार टेमानीद्वारा जारी विज्ञप्तिमा विवादका कारण लगानीकर्ताहरूमा नकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरिएको छ।
महासंघका अनुसार यो परियोजना कानुनी प्रक्रिया पूरा गरी स्थानीय सहमतिअनुसार अगाडि बढेको हो। पर्यटन पूर्वाधार निर्माणले स्थानीय रोजगारी सिर्जना गर्नाका साथै आर्थिक समृद्धिमा योगदान पुर्याउने भएकाले यसको अवरोधले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल कमजोर बनाउने चेतावनी महासंघले दिएको छ।
महासंघले सरकारलाई लगानीमैत्री वातावरण सिर्जना गर्न र समस्या वार्तामार्फत समाधान गर्न आग्रह गरेको छ। साथै, विकास निर्माणमा अनावश्यक अवरोध नगर्न सबै पक्षलाई अपिल गरेको छ।