एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ :
जनकपुरधाम उद्योग वाणिज्य संघले यस क्षेत्रका उद्योगी–व्यवसायीहरूले भोग्दै आएका समस्या समाधानका लागि संघीय अर्थ समितिलाई १५ बुँदे मागपत्र बुझाएको छ।
मंगलबार जनकपुरधाममा संघीय अर्थ समितिका पदाधिकारीहरूसँगको छलफलमा संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले जटही भन्सारलाई ठूलो भन्सारका रूपमा विस्तार गर्नुपर्ने, विषादी तथा खाद्य परीक्षण र प्लान्ट क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने माग गरे। साथै, बिल भएका सामान र सवारी साधन जफत गर्ने, लिलाम गर्ने तथा मुद्दा चलाउने कार्य तत्काल बन्द गर्नुपर्ने संघको माग छ।
त्यस्तै, जलेश्वर भन्सार मलिवारामा ड्राई पोर्टको व्यवस्था गर्नुपर्ने मागसमेत उठाइएको छ। संघले सरकारले कर दर वृद्धि गर्दा सीमावर्ती व्यवसाय धरापमा परेको बताएको छ। दैनिक उपभोग्य सामानमा १०% देखि ४०% सम्म वस्तुगत कर र थप १३% भ्याट लाग्दा वस्तुको मूल्य महँगो भई उपभोक्ता भारतीय बजारतर्फ आकर्षित भएको गुनासो गरिएको छ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भारतीय पर्यटकलाई मात्र २५ हजार रुपैयाँ लिएर नेपाल भ्रमणमा आउन पाउने नियम हटाउन माग गर्दै, वैधानिक रूपमा ल्याइएका सामान पनि सुरक्षाकर्मीले जफत गर्ने गरेको आरोप लगाए।
छलफलमा संघीय अर्थ समितिका सदस्य नारायणी शर्माले कानुनी सुधारमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखिन् भने जुली महतोले भौतिक संरचनाको अभावले भन्सार नाका प्रभावकारी हुन नसकेको बताइन्। समितिका अन्य सदस्यहरूले पनि जनकपुरधाममा अन्य ठाउँभन्दा फरक समस्या देखिएको उल्लेख गर्दै, समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठ, धनुषाका प्रहरी उपरीक्षक भुनवेश्वर तिवारी, प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।