सोनु साह
जनकपुरधाम, माघ ८ : भारत उत्तर प्रदेश स्थित गंगा, यमुना, सरस्वती नदीको संगम स्थल प्रयागराजमा १२ वर्षको अन्तरालमा लाग्ने महाकुम्भ मेलाका कारण नेपाली बजारमा भारुको अभाव देखिएको छ । महाकुम्भ जारी रहँदा स्नानका लागि तराई मधेशको गाँउ गाँउबाट नेपालीहरु त्यहाँ जान थालेपछि यहाँको स्थानिय बजारमा भारुको अभाव भएको हो ।
जनकपुरधामको मुरलीचौक स्थित नेपाल राष्ट्रबैंकमा भारु लिने ग्राहकहरुको लाग्न थालेको भिडले यस्को पुष्टि गर्दछ । मंगलवार बैंक अगाडि भारु लिने ग्राहकको लाइन लामो देखिएको छ । जनकपुरधाम सहित यस क्षेत्रका स्थानियहरु महाकुम्भमा घर घरबाट जाने गरेको र हरेक व्यक्तिले कम्तिमा दश हजार र बढिमा ५० हजार भारुको मांग गर्ने गरेको मुद्रा परिवर्तण गर्ने व्यवसायीहरु बताउछन् ।
गत वर्ष मात्र भारतको उत्तर प्रदेशकै अयोध्यामा भगवान श्री रामको नयाँ भब्य मन्दिरको समेत उदघाटन भएकोले महाकुम्भ जानेहरु अयोध्याका साथै काशी बिश्वनाथ सम्मको समेत यात्रा थप्दै जाने गरेकाले भारुको मांग बढन थालेको बताइन्छ । महाकुम्भमा दैनिक लाखौंले स्नान गर्ने गरेको दावी भारतिय सञ्चार माध्यमहरुको छ जस्मा खुला सिमा र पारिवारिक सम्बन्धका कारण भारत बाहेक नेपालकै सर्वाधिक तिर्थालुहरुको उपस्थिती त्यहाँ रहेको जनाइएको छ ।