एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँको आयोजनामा जनकपुरधाममा प्रमुख आर्थिक सूचकाङ्कको प्रयोग सम्बन्धि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा सम्पन्न तीन दिवसीय प्रशिक्षण कार्यक्रममा अर्थशास्त्र तथा वाणिज्य शास्त्रका प्राध्यापक, विभिन्न पालिकाका तथ्याङ्क शाखाका प्रमुखहरू, मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू, जिल्ला तथ्याङ्क कार्यालयका अधिकृतहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
यूके ईन्टरनेशनल डेभलपमेन्ट, द एसिया फाउण्डेशन र डाटा फर डेभलपमेन्टको सहयोगमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा देश, प्रदेश तथा स्थानीय निकायका आर्थिक सूचकका विषयहरू, सुशासन सहितका विज्ञहरूद्वारा प्रशिक्षण दिनु भएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँका मुन्नी कुमारी चौधरी उपप्रमुख तथ्याङ्क अधिकारी, निर्देशकद्वय पद्मराज पाण्डे र तीर्थराज बरालले प्रशिक्षण दिनु भएको थियो ।
आइतबार देखि शुरु भएर आज सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको समापनमा सहभागी मध्ये नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं रेडियो नेपालका वरिष्ठ संवाददाता अजय कुमार झा, महिला पत्रकार लक्ष्मी चौधरी, मधेश प्रदेशका अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्य र तथ्याङ्क अधिकृत शिवनारायण महतोले प्रशिक्षण एकदमै उपलब्धीमुलक भएको बताएका थिए ।
आर्थिक सूचकहरूको जानकारी सहित विभिन्न तथ्य बारे जानकारी गराउदै समाचार र खोजका लागि आवश्यक पर्ने सम्पुर्ण विश्लेषण प्रस्तुत भएको तालिममा बोल्ने वक्ताहरूले आर्थिक क्षेत्रको सूचकहरूको विश्लेषण गरेर समाचार लेख्न तथा अन्य विश्लेषणको काम गर्नमा प्रशिक्षण कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।