एसपी रिपोर्टर
जनकपुरधाम, असार १० : धनुषाका कृषी क्षेत्रमा जैविक मलको प्रयोग बढाउँदै लैजान सकिने सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् । धनुषाका कृषकहरुमा जैविक मल प्रयोगको आकर्षण बढ्दै गएको, जैविक मलको प्रयोग गर्ने किसानको चाहनालाई तिनै तहका सरकारहरूले नीतिगत तहबाट नै सहजीकरण गरिदिने हो भने त्यसले कृषि उत्पादन गर्ने तरिका नै बदिल्न सक्छ, जनकपुरमा कृषि विउविजन र औषधीको व्यवसाय गर्दै आएका कृषक ट्रेड सेन्टरका हरिकृष्ण महर्जनले बताए ।
रसायनिक मल समयमै उपलब्ध नहुने, यसले माटोको स्वास्थ्य विगार्दै लैजाने र रसायनिक विषादीको प्रयोग पश्चात अपनाउनुपर्ने विधी नअपनाउँदा मानव स्वास्थ्यमै गम्भीर असर पर्ने लगायतका समस्या उत्पन्न भइरहेको भन्दै उनले भने, “यसको विकल्प जैविक मलको प्रयोगलाई बढावा दिनु हो, तर विकल्प हो भनेर मात्र पुग्दैन ।”
उनले कृषकहरुमा जनचेतना बढाउनुका साथसाथै सहज आपुर्ति र प्रतिस्पर्धी मुल्य नहुँदासम्म जैविक मललाई विकल्पभन्दा पनि सानो समुहले पारिवारिक रुपमा मात्र उपयोग गर्ने सम्भावना रहने बताए । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहता पनि नीतिगत सहजता र सहज उपलब्धताले मात्रै जैविक मल प्रयोगको चाहनालाई व्यवहारमा उतार्न सहज हुने विश्वास व्यक्त गर्दछन् ।
![](https://spkhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-24-at-09.37.35-1-1024x768.jpeg)
जैविक मलको प्रयोग बढाउने सन्दर्भमा सरकारको दुईवटा मुख्य चासो रहेको बताउदै उनले पहिलो कृषकले कसरी कम मुल्यमा मल प्राप्त गर्नसक्छन् त्यसको सुनिश्चितता र दोस्रो प्राप्त गर्ने मलको गुणस्तर कस्तो छ भन्ने यकिन गर्ने दायित्व रहेको बताए । सरकार निजी क्षेत्रसँग मिलेर नै कृषकलाई लाभ दिन चाहेको उल्लेख गर्दै मेहताले नेशनल बायोटेक जस्तो उच्च प्रविधी र गुणस्तरीय जैविक मल उत्पादन गर्ने संस्थाहरुले पनि यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
सन् २०१४ सालमा स्थापना भएको नेशनल बायोटेकले अत्याधुनिक प्रविधीको प्रयोग गरेर साथी ब्राण्डको जैविक मल उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनको लागि यो संस्थाले अन्तराष्ट्रिय प्रमाणपत्र समेत प्राप्त गरेको यस संस्थाका म्यानेजिङ्ग डाइरेक्टर नुरविन्द्र विक्रम सिजापतिले बताए ।