एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० :
भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२४ सम्पन्न भएको छ । पर्साको विरगंजमा विरगंज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीणाले भारत–नेपालबीचको व्यापार विस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए । नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास तयार रहेको उनको भनाइ थियो । यही विषयमा केन्द्रित रहेर सम्मेलनमा छलफल गरिएको उनले जानकारी दिए ।
सम्मेलनमा इण्डिया नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको बताए । साथै नेपाल भारत बिचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दूत इश्वरराज पौडेलले नेपाल भारत बिचको व्यापारिक सम्बन्धमा देखिदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अबलम्बन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाई भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए ।
उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल भारत बिचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताए ।
सम्मेलनमा सहभागी वक्ताहरुले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए ।