एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पछिल्लो वर्ष जस्तै यस वर्षपनि जाउँ है पोखरा अभियानको शुरुवात गरिएको छ ।
पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिईरहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पोखराबाट शुक्रबार जनकपुरधाम आइपुगेको टोलीले एक कार्यक्रम गर्दै होटेल व्यवसायीका साथै पर्यटन व्यवसायसंग सम्बन्धित निकाय तथा संचारकर्मीहरुसंग अन्तरकृया गरेको छ ।
होटल सङ्घले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ४० प्रतिशत पुगिसकेको उनले बताए ।
जाउँ है पोखरा अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण प्रभाव पारेको सुवेदीले बताए । देशमा आन्तरिक द्वन्द्वको समयका साथै कोरोना महामारीलगायतका विभिन्न विपत्तिले समग्र पर्यटन क्षेत्र संकटमा परेका अवस्थामा आन्तरिक पर्यटनले महत्वपूर्ण भरथेग गरेको उनले बताए ।
मधेस प्रदेशका पर्यटन सचिव जयकुमार राउतले मधेस प्रदेशको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै यहाँको पर्यटनलाई पनि बढावा दिनकालागि पोखराका पर्यटन व्यवसायीहरुलाई सहयोग गर्न अपिल गरे । उनले पोखरा पुग्ने पर्यटकहरुलाई जनकपुरधाम समेत पुग्नका लागि भनि दिन पोखराबाट आएको टोलीलाई आग्रह गरेका थिए ।
होटेल संघ नेपाल मधेसको अध्यक्ष विजय झुनझुनवालाले दिगो पर्यटनका लागि आन्तरिक पर्यटनको गतिविधि बढ्नुु जरुरी रहेको बताए । स्वदेशी पर्यटकले विदेशी पर्यटकले भन्दा बढी खर्च गर्ने गरेको अनुुभव सुनाउँदै उनले आन्तरिक पर्यटनको विकासका लागि एकआपसमा समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । उनले मधेस र जनकपुरसंग पर्यटन क्षेत्रमा समेत बेइमानी भएको आरोप लगाए ।