एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित करिव ८० करोड बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको केन्द्रबिन्दु ढल्केवरमा आयोजित १२ औं नगरसभामा नगरप्रमुख महेन्द्र महतोले अगामि आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
चालु तर्फ ६२ करोड र पुजीगत तर्फ १८ करोड गरि सो परिमाणको बजेट प्रस्तुत गरिएको छ । नगरसभाको समुदघाटन सत्रमा बोल्दै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिला नगरपालिका क्षेत्र नंं. चारको पनि मध्य र केन्द्र बिन्दु रहेकाले नेपाली कांग्रेसको नेतृत्वमा जनताले देख्ने गरि विकास हुने बताए ।
कांग्रेसले गर्न थालेको विकास र नगरपालिकाको समुचित व्यवस्थापनबाट अतालिएर केहि समुह नगरसभामा नआएको भन्दै उनले गठबन्धन आवद्व शक्ति मिलेर नगरपालिकाको विकास गर्नुपर्ने बताए । नगरसभामा गठबन्धन आवद्व माओवादी केन्द्र, नेकपा एस सहितका दलहरुको उपस्थिती थियो । उनीहरुले आफना कुरा र तर्क राख्नु पर्नेमा नगरसभानै बहिष्कार गर्नु एमालेको गल्ती र अनुचित हठ रहेको बताएका थिए ।
एता नगरसभामा एमालेबाट निर्वाचित नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी सहित एमालेबाट निर्वाचित कुनै पनि प्रतिनिधी भने उपस्थित नभएको बताइएको छ । नगरकार्यपालिकामा एमालेको बहुमत छ । नगरसभाको बन्द सत्र सोमवार नै सुरु भएको र बजेट बाँडफाँडका लागि पाँच सदस्य समिति समेत गठन भएको नगरपालिकाले जनाएको छ ।