एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :
बेल्ही एकिकृत ग्रामिण विकास परियोजनाद्वारा हँसपुर नगरपालिकामा संचालित खानेपानी तथा कृषि आयोजनाको बिजिएन डेनमार्कका प्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
साइट नेपालको पहलमा हँसपुर नगरपालिका बेल्हीस्थित विगत एक वर्षदेखि परियोजनाद्वारा संचालनमा रहेको खानेपानी आयोजना तथा कृषिका कार्यक्रमहरुको बिजिएन डेनमार्कबाट आएका प्रतिनिधिहरु सोरेन कोच, क्रिस्टेन, बाउन फ्रिक, इस्ट्रिडले अवलोकन गरेका हुन् । गाउँको चापाकलमा पानी आउन छोडेपछि साइट नेपालका अमित साहको अग्रसरतामा बेल्ही एकिकृत ग्रामिण विकास परियोजना अन्तर्गत खानेपानी आयोजनाको विस्तार गरियो । अहिले सो खानेपानी आयोजनाबाट त्यहाँका २ सय ६० घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी आयोजनालाई दिर्घकालिन बनाउनका लागि साइट नेपालकै अग्रसरतामा त्यहाँ बेमौसमी बालीहरुको खेती समेत शुरु गरियो । अहिले त्यहाँ बेमौसमी बालीको खेती समेत गरिन्छ ।
बिजिएन डेनमार्कका प्रतिनिधिहरुसंग यस भेगमा बेमौसमी बालीको खेती लगायतको सम्भाव्यता अध्ययन तथा भविश्यको योजना लगायतको विषयमा छलफल भएको साइट नेपालका अमित साहले जानकारी दिए । उनका अनुसार निकट भविश्यमा साइट नेपालले बर्ड रेस्टुरा समेत संचालनमा ल्याउने विषयमा योजना बनाईरहेको बताए । बर्ड रेस्टुरा संचालनमा आएसंगै त्यहाँ चराचुरुंगीहरुका लागि सेल्टर तयार पार्नुका साथै उनीहरुका अन्न दानाको समेत व्यवस्था गरिने उनको भनाई छ ।