एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ : मधेश सरकारका मुख्यमन्त्री सहित मन्त्री परिषदका सम्पुर्ण सदस्यहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकार सञ्चालनका लागि जनकपुर चुरोट कारखानाको परिसर मधेश सरकार मातहत ल्याईदिन आग्रह गरेको केहि दिनमै नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री कारखानाको स्थलगत निरिक्षण गर्दै कारखाना पुन: सञ्चालन गरिने बताएका छन् ।
गत आइतवारको कुरा हो मधेश प्रदेशका मुख्यमन्त्री सहित मन्त्री परिषदका सबै सदस्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मधेश प्रदेश सरकार सञ्चालनका लागि जनकपुर चुरोट कारखानाको भौतीक संरचना मधेश सरकार मातहत ल्याई दिन आग्रह गरेका थिए । उनीहरुको भेटमा सत्ता घटक माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि सहभागि थिए । तर पाँच दिन नपुग्दै नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडु बन्द रहेको देशका सम्पुर्ण प्रमुख कारखाना चलाउने भन्दै जनकपुर चुरोट कारखानाको स्थलगत निरिक्षण गर्दै कारखाना पुन: सञ्चालन हुने बताएका छन् ।

कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायत मुलुकमा रहेका रुग्ण उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गरिने बताए । मुलुकको व्यापार घाटा कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन गर्नुपर्ने उनको तर्क थियो । यद्यपि मन्त्री बडुले मधेश सरकार पनि संघिय सरकारकै एक हिस्सा रहेकाले उहाँहरुको मांगका विषयमा पनि सोच्ने र कसरी सम्बोधन गर्न सकिन्छ छलफल हुने बताए ।
कारखाना अनुगमण पछि बुधवारनै जनकपुरधामका उद्योगी व्यापारीहरुसंग भेटेका मन्त्री बडुले कारखाना चलाउनकै लागि सरकार अग्रसर रहेको भएपनि मधेश सरकारको मांग समेत कसरी सम्बोधन गर्ने र कारखानाका सम्पतीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उद्योगी व्यापारीहरुसंग राय मागेका थिए । सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएपछि आफूले स्थलगत अवलोकन गरेको उनको भनाइ थियो ।
“उद्योग के कस्तो अवस्थामा रहेको छ र कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सबैसँग छलफल गर्छौं,” मन्त्री बडूले भने, “आवश्यक तयारी गरेर उद्योग सञ्चालन गर्छौं ।” राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य अनुरूप जनकपुर चुरोट कारखानालाई सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । यसका लागि बजेट विनियोजन गरिएको बताउँदै मन्त्री बडूले भने, “जनकपुर चुरोट कारखानाका कति मशिनको उपयोग गर्न सकिन्छ, नेपाल सरकारले आफैं चलाउने कि निजी क्षेत्रसँग मिलेर चलाउने लगायतका विषयमा छलफल गरेर निर्णय गर्नेछौं ।”
करिब ७ दशक अघि रसिया सरकारको लगानीमा निर्मित र हाल करिव १२ वर्ष देखि उत्पान ठप्प भएर धारायसी अवस्थामा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडलाई सुचारु गर्न रसिया सरकार सहितकाले समेत पहल र अनुगमन गरेपनि हाल कारखाना मधेश सरकारको प्रशासनिक भवन मधेश भवनको रुपमा प्रयोगमा रहेको छ । मेसिनहरु थन्किएर लोप हुने अवस्थामा पुगिसकेको छ ।


