एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । जनकपुरधाममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको तेश्रो साधारणसभामा केन्द्रीय अध्यक्ष गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा तरलता देखिएपछि उद्योगी व्यवसायीहरू झन् मारमा परेको भन्दै समस्या समाधानका लागि आफूहरू प्रयास गरिरहेको बताउनुभएको हो ।
सभामा अध्यक्ष गोल्छाले कोरोना संक्रमणका कारण धारासायी बनेको उद्योग क्षेत्र विस्तारै उठ्न लागेकै बेला रुस र युक्रेन युद्ध लगायत कारणले फेरि यो क्षेत्र समस्यामा परेको बताउनुभयो । उनले आफु नेतृत्वको महासंघ उद्योगीहरुको समस्या समाधानका लागि लागि परेको बताउनु भयो । हल्ला गरेर मुर्दावादको नारा लगाएर मात्र केहि हुनेवाला छैन उनले भने, ‘सरकारसंग समन्वय गरेर पनि समाधानका पहलु खोज्न सकिन्छ ।’

सभामा महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, निवर्तमान अध्यक्ष शिव शंकर साह हिरा, वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल, बागमती र लुम्बिनी प्रदेशका अध्यक्षहरु, प्रदेशका उद्योगी व्यवसायी, विभिन्न स्थानका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।





