एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३ :
प्रदेश नम्बर २ को धनुषामा पनि धमाधम व्यवसायिक प्रतिष्ठान खुल्न थालेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ५ मा करिव ६० करोडको लागतमा आधुनिक राइस मिल सञ्चालनमा आउने भएको छ । गाउँपालिकाको साढे १० विघ्घा जग्गामा ६० करोडको लागतमा आधुनिक जय नरसिङ्ग एग्रो प्रोसेसिङ्ग प्रा.लि.ले राइस मिल सञ्चालनमा ल्याउन लागेको सञ्चालक मनोज साहले बताए ।

राइस मिलका सञ्चालक साहका साथै नितिश साह र निखिल साहले बुधवार संयुक्त रुपमा हिन्दु परम्परा अनुसार पुजापाठ गरी मिलको शिलान्यास गरेको हो । प्रदेश नम्बर २ को वीरगंज पछि धनुषाको बटेश्वर गाउपालिकामै १२ टन उत्पादन गर्न सक्ने क्षमताको आधुनिक मेसिन जडान भइरहेको संचालक साहले बताए ।

सो मेसिनबाट दैनिक २ सय टन राइस उत्पादन हुनेछ । उक्त राइस मिल विधिवत संचालनमा लगभग ६÷७ महिना सम्म समय लाग्न सक्ने संचालक साहले बताए । आधुनिक राइस मिलमा आधुनिक तरीकाले विभिन्न खाद्य सामाग्रीहरु कुटानी, पिसानी र पेलानी गरीनुका साथै गल्ला खरीद समेत हुने सञ्चालक साहले जानकारी गराए । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह सहितकाहरु पुगेर मिल निर्माण कार्यको निरिक्षण गरेका छन् ।