एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २१ :
जनकपुरधाममा भगवान हनुमानको जन्मोत्सव हनुमान जयन्ती विभिन्न धार्मिक कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा श्रद्धालुहरूले पूजा–आराधना, हनुमान चालिसा पाठ तथा भजनकीर्तन गरी भगवान हनुमानप्रति श्रद्धा व्यक्त गरेका छन् ।
हनुमान जयन्तीका अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले युगलजोडी मन्दिर विहार कुञ्जमा विशेष कार्यक्रम आयोजना गरेको थियो । परिषद्ले जनकपुरधाम रेल्वे स्टेसनबाट शोभायात्रा निकालेर नगर परिक्रमासमेत गरेको थियो ।
परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चककै समयमा हनुमान जयन्ती पर्ने भएकाले अन्य पर्वको तुलनामा यसको चर्चा कम हुने गरेको बताए । भगवान हनुमानको जन्मोत्सवलाई विशेष महत्त्व दिएर मनाउन परिषद्ले विगत २० वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनले जानकारी दिए ।
त्यस्तै, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो । भक्तजनहरूले सिन्दूर, लड्डु, पान, केरा तथा रातो वस्त्र अर्पण गरी भगवान हनुमानको पूजा–आराधना गरेका थिए ।


