एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ :
मधेश प्रदेश सरकारले सीमा सुरक्षा, नियमित गस्ती तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो तथा ब्लुबुक हस्तान्तरण गरेका हुन्।
प्रदेशका सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थितिलाई थप प्रभावकारी बनाउन मोटरसाइकल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। मोटरसाइकलबाट सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
भारतसँग लामो खुला सीमा जोडिएको मधेश प्रदेशमा सीमा सुरक्षा र नियमित गस्तीलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रदेश सरकारको योजनाअनुसार मोटरसाइकल हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री महतोले प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक पर्ने थप सवारीसाधन उपलब्ध गराउने तयारी गरिरहेको बताए। उनका अनुसार आवश्यकताका आधारमा थप १० थान मोटरसाइकल सम्बन्धित स्थानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउनु प्रदेश सरकारको प्राथमिकतामध्ये एक रहेको मन्त्री महतोले बताए। पर्याप्त सवारीसाधन उपलब्ध हुँदा नियमित गस्ती, सीमा निगरानी तथा आकस्मिक अवस्थामा सुरक्षाकर्मीलाई तत्काल परिचालन गर्न सहज हुने उनको भनाइ थियो।
यसअघि बुधबार मात्रै मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई गस्ती तथा सुरक्षा व्यवस्थापनका लागि ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको थियो।