एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गस्ती तथा सुरक्षा व्यवस्थापनलाई सहज बनाउन मधेश प्रदेश प्रहरी कार्यालयलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
मन्त्री महतोका अनुसार प्रदेशको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा प्रहरीको दैनिक कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले मोटरसाइकल उपलब्ध गराइएको हो। नयाँ सवारीसाधन थपिएसँगै नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनका काममा सहजता हुने उनले बताए।
उनले प्रदेश सरकारले ‘सुरक्षित मधेश, समृद्ध मधेश’को नारालाई सार्थक बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने नीतिअनुसार काम गरिरहेको बताए।
मन्त्री महतोले बुधबार प्रदेश प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरिएको र बिहीबार सशस्त्र प्रहरीलाई थप २० वटा मोटरसाइकल हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए।

