एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
महोत्तरीको जलेश्वरमा एक व्यक्तिलाई मरनासन्न हुनेगरी कुटपिट गरिएको घटनामा पीडित परिवारले दोषीमाथि कडा कानुनी कारबाही, उपचार खर्च तथा उचित क्षतिपूर्तिको माग गरेको छ।
जलेश्वर नगरपालिका ८ बजराही निवासी मगनु दास कुटपिटबाट गम्भीर घाइते भएपछि उनका परिवारले घटनामा संलग्न व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्न माग गरेका हुन्। परिवारले प्रहरी र न्यायिक प्रक्रियाप्रति समेत असन्तुष्टि जनाएको छ।
पीडितकी छोरी आरती देवी दासले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आफ्ना बुवामाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोप लगाइन्। उनका अनुसार स्थानीय अमोध ठाकुरले बाँसको भाटाले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
आरतीका अनुसार मानसिक रूपमा अस्वस्थ रहेका मगनु दास गत वैशाख ८ गतेदेखि घरबाट हराइरहेका थिए। परिवारले खोजी गर्ने क्रममा वैशाख २४ गते बिहान उनलाई बजराही क्षेत्रमा मरनासन्न अवस्थामा फेला पारेको थियो।
घटनापछि प्रहरीको सहयोगमा उनलाई जलेश्वरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको र हाल स्वस्तिका अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।
पीडित परिवारले हालसम्म उपचार खर्च वा कुनै प्रकारको क्षतिपूर्ति नपाएको गुनासो गर्दै दोषीमाथि कडा कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।
घटनाका आरोपित अमोध ठाकुर हाल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।





