एसपी रिपोर्टर
जनकपुरधाम , साउन २ : 
धनुषा प्रहरीको नियन्त्रणमा रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष अर्जुन चौधरीविरुद्ध बाल यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा उजुरी परेको आधारमा बिहिबार साँझ पक्राउ परेका वडाध्यक्ष चौधरीविरुद्ध प्रहरी कार्यालयमा पीडितको अभिभावकले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चौधरीमाथि एक किशोरीमाथि यौन दुर्व्यवहार आरोप लागेको छ । उनले किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको ।
यता प्रहरीको नियन्त्रणमा रहेका वडाध्यक्ष चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नकालागि जिल्ला अदालत धनुषाले ५ दिनको म्याद थप गरेको छ ।
वडाध्यक्ष चौधरीमाथि लागेको आरोप प्रमाणित भए ३ वर्ष सम्म कैद सजाय तथा ३० हजारसम्म जरिवाना हुनेछ ।
यसअघि पनि चौधरी घुस काण्डमा मुछिएर पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।