एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहका काका वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेर फरार रहेका उनका सहोदर ज्वाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका ५५ वर्षीय बेचन महासेठ रहेका छन् । महासेठ आफ्नै ससुरा वासुदेवमाथि चक्कु प्रहार गरी फरार भएका थिए ।
महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार हत्या पछि भारत तर्फ लागेका उनलाई भारतबाट पक्राउ गरि ल्याइएको हो । प्रहरीका अनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चारपटक चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको सेतो टल्किने चक्कु र अभियुक्तले प्रयोग गरेको मधेश प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषा प्रहरीले आज विहान पत्रकार सम्मेलन गरि पक्राउ बारे जानकारी गराउदै थप अनुसन्धान थालिएको बताएको छ ।





