एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ :
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेशमा बलात्कार जस्तो अपराधिक घिणृत कार्यमा संलग्नलाई पनि राजनीतिक दलका नेता भनाउनेहरु नै लाख दुई लाखमा बचाउन सक्रिय रहेको बताएका छन् ।

गत माघ ३० गते सिरहा नवराजपुरमा एक दलित किशोरी उपर भएको बलात्कार र हत्या घटना बारे पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले यस्तो बताएका हुन । उनले भने यस्तो जघन्य अपराधिक घटना मिलाउन, पञ्चायती गरि लाख दुई लाखमै चुप लाग भनेर सेलाउन दलहरुकै नेताहरु सक्रिय रहेको पाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

त्यती मात्र नभई स्वयंम घटना स्थलका स्थानियहरु पनि यस्ता घटनाहरु लुकाउन अग्रसर देखिएर अपराधलाई प्रसय दिने कामहरु समाजबाटै पनि भइरहेको देखिएको आरोप लगाए । मानव अधिकार, पत्रकार सहितका निकायलाई जानकारी गराउनुको साटो प्रहरीलाई मिलाएर घटना स्थानिय स्तरमै लुकाउने प्रयासमा वृद्वि भइरहेको उनको आरोप छ । मन्त्री लेखीले अपराधी आफनै पार्टीको भएपनि कारवाही र सजायबाट भाग्न नसक्ने पनि प्रतिवद्वता व्यक्त गरेका छन् ।

मन्त्री लेखी संगै रहेका मधेश प्रदेशका प्रहरी प्रमुख लालमणी आचार्यले प्रहरी निरिक्षकको नेतृत्वमा एक विशेष टोली खटाइएको र छिट्टै अपराधी सम्म पुग्ने गरि काम भइरहेको बताए । उनले अनुसन्धानका विषय भएकाले विस्तृत भन्न नमिल्ने यद्यपि छिट्टै अपराधी सहित प्रहरी उपस्थित हुने उनको तर्क छ । पत्रकार सम्मेलनमा गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्वव प्रसाद रिजाल सहितको उपस्थिती थियो ।