एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ३० : नागरिकताको मांग गर्दै आएका एक युवक काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका छन् । आत्मदाहको प्रयास गर्ने युवा मोरङ्ग जिल्ला कटहरीका निरज कुमार कामत रहेका छन् । १८ वर्ष पुगेपछि नागरिकताका लागि प्रयास गर्न थालेका कामत विगत पाँचवर्ष देखि आन्दोलनरत छन् ।
उनको हजुरबुबा र बुबाले पनि जन्मको आधारमा नागरिकता पाइसकेका छन् । उनको बुबाले २०६४ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकता विहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
सोही क्रममा ती युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । उनले भने, ‘ती युवकले आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।’





