एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ :
होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादले उग्र रूप लिँदा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँशु यादव हुन्, जो पप्पु यादवका छोरा हुन्। प्रहरीका अनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ।
धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो। सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिएका छन्।