एसपी रिपोर्टर
रौतहट, असार १६ : जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएपछि सोमबार साँझ रौतहट जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरु तनावमा परे । स्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो ।
तर हेटौंडामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाइयो । ‘हेटौंडाको ल्याबमा अनुरोध गरेर तुरुन्तै परीक्षण गराउँदा आज ती पाँच जनाको रिपोर्ट नुगेटिभ आएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले भने ‘सद्धे मान्छेलाई पनि संक्रमित भएको भनी रिपोर्ट दिनु दुखद हो ।’
यो घटनाले जनकपुर प्रयोगशालामाथि गम्भीर प्रश्न उठाएको स्वास्थ्य प्रमुख साहले बताए । जनकपुर ल्याबको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङलगायतको काम शुरु गर्नुअघि पुनः अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्षपछि हेटौंडामा परीक्षण गर्न पठाइएको थियो । संक्रमितको नजिकसमेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको पोजेटिभ रिपोर्ट आएपछि शंका लागेर हेटौंडामा परीक्षण गर्न पठाएको प्रमुख साहले बताए ।
गौर अस्पतालकै एक कर्मचारीको छोरामा केही दिनअघि संक्रमण पुष्टि भएपछि गत ११ गते बिहीबार स्वास्थ्य कार्यालयका २३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । जसमध्ये १२ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो ।