एसपी रिपोर्टर
काठमाडौं, जेठ २० : पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।
मंगलवार एकै दिन ४५ जना घर फर्के

मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका छन् ।
भीम अस्पतालबाट डिस्चार्ज हुनेमा १६ जना रुपन्देहीका र कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यस्तै धरानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र एक जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् ।
त्रिवि शिक्षण अस्पतालबाट एक बालिका र गुल्मी अस्पतालबाट एक युवक पनि डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् । प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन् ।
कुन प्रदेशमा कति छन् संक्रमित ?

नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। मंगलबारमात्र थप २८८ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको हो ।
प्रदेश १ को ९ जिल्लामा कुल एक सय ६८ जना संक्रमित रहेका छन्। मंगलबार यस प्रदेशमा नयाँ संक्रमित देखिएनन ।
प्रदेश २ का ८ जिल्लामा कुल आठ सय १६ जना संक्रमित रहेका छन्। मंगलबार यस प्रदेशमा एक सय २२ जना नयाँ संक्रमित थपिएका हुन् ।
बागमती प्रदेशको १२ जिल्लामा ५४ जना संक्रमित रहेका छन्। मंगलबार मात्र प्रदेशमा आठ नयाँ संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशको ७ जिल्लामा कुल ३७ जना कोरोना संक्रमित रहेका छन्। जसमा मंगलबारमात्रै १० नयाँ संक्रमित थपिएका हुन् ।
प्रदेश ५ को ११ जिल्लामा कुल ६ सय ९९ जना संक्रमित रहेका छन्। जसमध्ये मंगलबार मात्र ७८ जना नयाँ संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशको ५ जिल्लामा दुई सय ५२ जना संक्रमित रहेका छन्। प्रदेशमा मंगलबार मात्र ५४ जना नयाँ संक्रमित थपिएका हुन् ।
सुदूरुपश्चिमको ९ जिल्लामा कल ७३ जनामा कोरोना संक्रमण देखिएको छ। आजमात्र थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।