एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ : धनुषामा सोमबार थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ जना कोरोना पुष्टी भएकाहरुमध्ये दुई जना प्रहरी जवान रहेका छन् अर्का एकजना भने भारतवाट आएका व्यक्ति हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) बिहान प्रेस विज्ञप्ति जारी गर्दै धनुषाका तीन सहित थप ७२ जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेको थियो ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर–५ गंगुलीमा रहेको क्वारेन्टाइनमा रहेका २ जना प्रहरी र एक जना स्थानीय रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । संक्रमित प्रहरीहरुमध्ये एकजना असई (४५ बर्षिय) र एक जना जवान (३१ बर्षिय) रहेका छन् । ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत ती प्रहरीहरूको क्वारेन्टाइनमा समय समयमा आउ जाउ हुने गरेको थियो ।
तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन् । अर्का एक जना संक्रमित पुरुष (३० बर्षिय) भारतको दिल्लीबाट जेठ ६ गते आएकोे बताइएको छ । उनी जेठ ६ गते भारतबाट फर्किए लगत्तै आफ्नो घर नगई क्वारेन्टाइनमा गएका थिए ।