एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २४ : नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनामा कोरोना संक्रमण भएको छ । बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताएअनुसार बुधबार भेटिएका वीरगन्जका सबै संक्रमित एउटै परिवारका हुन् । वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार सदस्य रहेको बताइएको छ । ती पुरुष महानगरका कर्मचारी रहेको खुलेको छ ।
संक्रमित २ महिने शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताइएको छ । वैशाख १४ गते महानगरपालिका– ३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको थियो । उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ । १२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उनि सहभागी भएको पनि खुलेको छ । त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्ने आंकलन गरिएको छ । बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
महानगरका मेयरको आशंका पाँचहजारलाई तुरन्त जाँच गरौं
महानगरका मेयर विजयकुमार सरावगीले विरगञ्ज कोरोनाको केन्द्रविन्दु बन्ने भयो भन्दै चिन्ता व्यक्त गरेको छन् । केन्द्र र प्रदेश सरकारले तत्कालै सो क्षेत्रका ५ हजार जनामा संक्रमणको परिक्षण नगरे ठूलो महामारीको अबस्था आउने समेत उनले चेतावनी दिएका छन् । उनले भने, ‘यदि एक दुईदिनभित्रै ५ देखि १० हजार जनाको कोरोना संक्रमण परिक्षण गर्न सकिएन भने भयाभ स्थिति आउने निश्चित छ । केन्द्र सरकारले यो कुरालाई गम्भिरता पूर्वक लिनुपर्छ ।’ संक्रमणमा परेका व्यक्तिमध्ये संशुद्धिन मियाँ महानगरले सञ्चालन गरेको राहत वितरण कार्यमा सक्रिय थिए । उनी यसबीच १२ सयभन्दा बढी व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका हुनाले संक्रमण विष्फोटक अबस्थमा पुगेको अनुमान गरिएको हो ।