एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा लुकेर बसेको व्यक्तिमा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै पर्साको बिरगंजमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडाध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमितका बुवाले उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन् । रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको उनको भनाइ छ । उनको परिवारमा १७ जना सदस्य छन् । स्थानीय प्रशासनले परिवारका सदस्यलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । तीन जना जमातीमा संक्रमण भेटिएपछि सिल गरिएको छपकैयाँ क्षेत्र शनिबार मात्रै खोलिएको थियो ।