एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १३ : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै नेपालमा लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज (शनिबार) बसेको समितिको बैठकले देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको निष्कर्ष निकालेको हो ।
वैशाख १५ गते लकडाउनको अवधि सकिँदैछ । यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्री परिषदको बैठकले समितिको सिफारिस अन्ुसार लकडाउन बढाउन सक्ने सम्भावना छ । शुक्रबारको मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए । समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ । यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ ।
हवाई उडान थप २० दिन सम्म नहुने
समितिले आन्तरिक तथा अन्ताराष्ट्रिय उडान अझै २० दिन सम्म नहुने निष्कर्ष निकालेको हो । बैठकबाट लकडाउनको कारण नेपालमा कोरोनो नियन्त्रणमा आएको भन्दै यसलाई निरन्तरता दिँदै आगामी जेठ २ गतेसम्मको लागि उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई मे १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि बैशाख १८ गतेसम्म हवाई उडानहरु स्थगित गरिएको थियो ।