एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । संक्रमित दम्पतीसंगै रहेकी एकजनाको रिपोर्ट आउन भने वाँकी छ । यस संगै प्रहरीले उनीहरु संगको सम्पर्क सूची खोज्न थालेका छन् । रयापिड टेस्ट किट (आरडीटी) बाट तीन जनामा संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पीसीआर टेस्टबाट तिन मध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो व्यक्तिको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छैन ।
नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)का अनुसार उनीहरु ५ चैतमा कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए । यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ । विमानमा सवार अधिकांश व्यक्ति विभिन्न जिल्लामा पुगिसकेको सुरक्षा संयन्त्रको भनाइ छ । यात्रुहरुको बाहिर बाहिर गइसकेकाले स्थानिय प्रहरीहरुसंग समन्वय गरेर कवारेन्टाइनमा राख्न आग्रह गर्ने तयारी प्रहरीको छ ।
अपार्टमेन्टका ४ सय परिवारमा शंका र त्रास
प्रहरीकाअनुसार संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएको थियो । ब्लकमा कति जना छन् भन्ने अहिले खुलिसकेको छैन । यद्यपि प्रारम्भिक सूचनामा अपार्टमेन्टमा ४ सय भन्दा बढी परिवार बस्दै आएको पाइएको महानगरीय प्रहरी प्रभाग, काँडाघारीका एक अधिकृतले बताए । त्यहाँको अध्यक्ष र सचिवलगायतका पदाधिकारी छनोटका लागि ८ चैतमा चुनाव भएको थियो र, अहिले कोरोना संक्रमण देखिएकाहरु पनि चुनावमा सहभागी भएको अनुमान छ ।
अपार्टमेन्टमा बसेकाहरु लकडाउनको समयमा पनि बाहिर आउजाउ गर्ने गरेको पाइएको छ । धुलिखेलका एक व्यक्तिले पनि लकडाउनको समयमा पनि अपार्टमेन्टमा नियमित आउजाउ गरिरहेको पाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाकाअनुसार उनको प्रारिम्भक परीक्षण भइसकेको छ । ‘प्रारम्भमा गरिएको ¥यापिड टेस्टमा नतिजा नेगेटिभ आएको बताउदै सिडिओ तिम्सिनाले विस्तृत नतिजाका लागि पीसीआर टेस्ट गर्ने तयारी गरिरहेको र स्वाब संकलन गरेर धुलिखेल सामुदायिक अस्पतालमा पठाइएको बताए । उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेका थिए । सनसिटीमा संक्रमण देखिएको सूचना आएपछि उनी प्रशासनको सम्पर्कमा पुगेका थिए ।
हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएका प्रहरी टोलीले अपार्टमेन्टलाई घेराबन्दी गरेको छ । हाल ५ जना प्रहरी त्यहाँ खटिएका छन् । उनीहरुलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरी पीपीई दिइएको छ । अहिले मास्क, पञ्जा लगाएर प्रहरी खटेका छन् । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार हालसम्म भित्र रहेका व्यक्तिले खाद्यान्न वा अन्य कुनै कुराको आवश्यकता भएको बारे बताएका छैनन् । तर, केही समस्या पर्न सक्ने आशंकामा कुनै गाडी छेऊमा राखेर भित्र सामान पठाउने व्यवस्था मिलाउन लागिएको उनले बताए । बोगटीका अनुसार कुनै किसिमका अफ्ठ्यारो वा आवश्यकता परे गेटमा रहेका प्रहरीलाई सम्पर्क गर्न अपार्टमेन्टमा बसेका व्यक्तिहरुलाई भनिएको छ ।