एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : धनुषाको ग्रामिण र अति अविकसित गाँउहरु समेटेर बनेको शहिदनगर नगरपालिकाले कोरोना विरुद्व विभिन्न अभियान थाल्ने क्रम जारी छ । देशकै कान्छो उमेरका मेयर पाएर चर्चा कमाएको नगरपालिकामा अहिले संकटमा समेत मेयर उदय यादव बरबरिया त्यसै अनुसारको काम गरेर सराहनाको पात्र बनिरहेका छन् ।
यसै क्रममा नगरपालिकाले यस संकटवाट लडनका लागि एक कोषको स्थापना गरि सहयोगको लागि अपिल गरेका छन् । दैवी प्रकोप व्यवस्थापन कोष नाम दिएको कोष राष्ट्रिय बाणिज्य बैंकको खाता नं. १२२०३०५०४९४१३ मा स्थापना गरिएको छ । एसपी खवरसंग कुराकानी गर्दै मेयर बरबरियाले कोषको स्थापना गरि सहयोग गर्न चाहने जो कोहिले पनि इच्छा अनुसारको रकम यस कोषमा दान गर्न सक्ने बताए । संकटको यस घरिमा सहयोगको अपिल गर्दै उनले कोरोना बिरुद्वको कुनै पनि अभियान र कार्यमा कसर वाँकी नराख्ने समेत प्रतिवद्वता जाहेर गरेका छन् ।
कोषमा त्रिमुर्तिको १ लाख ११ हजार १ सय ११

यसैबिच कोष स्थापना भएसंगै कोषमा त्रिमूर्ति वचत तथा ऋण सहकारी संस्था यदुकोहाले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान समेत गरेको छ । संस्थाका अध्यक्ष श्याम चौधरी, उपाध्यक्ष शुशिला देवी चौधरी, बिनोद कुमार हाथी, राज कुमार कर्माचार्य, जयनारायण सिंह लगायतका पदाधिकारीहरु मेयर बरबरियालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । मेयर बरबरियाले सहयोगका लागि अन्य संस्थाहरु समेत सहयोग गर्न सम्पर्कमा आएको बताए ।