एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : सरकारले लकडाउनको अवधी थप ८ दिन बढाएको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड(१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म अर्को आठ दिन म्याद थपेको सरकार अव बैशाख ४ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।
साथै, कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो । नेपालमा सोमबार सम्म कुल १६ सय ४२ जनामा गरिएको परीक्षणमा ९ जना कोरोना सँक्रमित फेला परेको हो । जसमा एकजना निको भइसकेका छन् । कोरोनाको सँक्रमणको सँख्या बढेपछि लकडाउनको अवधि बढाएको हो । सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।