एसपी रिपोर्टर
महोतरी, पुष ५ : महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी उपप्रमुख रमिता प्रधानले आफ्नो श्रीमान माथी बालिका अपहरणको आरोप राजनीतिक षडयन्त्र तहत लगाइएको दावी गरेकी छिन् । केही दिन अगाडी मात्रै उपप्रमुख प्रधानको श्रीमान विनोद गामी माथी छिमेककै बालिका अपहरण गरेको आरोप लगाइएको थियो । उपमेयर प्रधानले भनिन, ‘जे कुरामा पनि अपहरण र बलात्कारको कुरा हुन्छ, यो कुन राजनिति हो ?’

उपप्रमुख प्रधानले स्थानिय स्तरमै पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो र श्रीमानको राजनीतिक छवि बिगार्नका लागि केहि नेताहरुले यस प्रकारको षडयन्त्र गरेको दावी गरिन् । उनले भनिन् ‘जुन ठाउँमा बालिकालाई बन्धक बनाएर राखिएको थियो त्यहाँ आफुहरुको बसोबास समेत छैन र केही दिन यता आफूहरु गाउँ समेत पसेको छैन ।’

पिडित भनिएकी महिला उनकी छोरी साँझ एकै ठाउँमा आगो तापी रहेकी दावी गर्दै उनले १० मिनेट भित्रै कसरी अपहरणमा परिन ? प्रश्न गरिन् । पिडित महिला र उनकै परिवारजन बिच विगत केही महिनादेखि विवाद चल्दै आईरहेको र दुई बिचको विवादमै पिडित भनिएकी महिला घाइते भएको समेत उनले बताइन । घाइते भएपछि उनको उपचारमा १ लाख जति खर्च भयो, उपप्रमुख प्रधानले अगाडी भनिन, ‘मुद्दा मामिला पनि चलिरहेको छ, हामीले अर्को पक्षको समर्थनमा रहेकाले फसाउनकै लागि यो षडयन्त्र गरिएको हो ।’

उनले यो घटनाको अनुसन्धान प्रहरीले पनि निश्पक्ष नभई शंकास्पद रुपमा गरिरहेको आरोप लगाएकी छन् । उपप्रमुख प्रधानले घटनाको निश्पक्ष रुपमा अनुसन्धान गरेर दोषी कोही रहेपनि कारबाही गर्न माग गरेकी हुन् । यता पीडित महिलाले आफ्नै छोरी अपहरणको नाटक आफैले कसरी गर्न सक्छु भन्दै आक्रोस पोखिन । उनले आफूलाई न्याय चाहियो अरु केही होइन भनिन ।






