एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगरमा एक परिवार माथी संघातिक आक्रमण भएको छ । ठेक्कापट्टामा मनमोटावका कारण अर्को समुह ट्रयाक्टरमा लठ्ठी फरठ्ठा सहित करिव दुई दर्जन मोटरसाइकलमा समुहमै आएर घर र पसलमा लुटपाट गर्नुका साथै कुटपिट गरिएको वडा नं. ५ निवासी राजदेव चौधरी परिवारको आरोप छ । पिटपाटवाट चौधरी सहित उनको कन्सट्रक्शनमा काम गर्ने कर्मचारीहरु पनि घाइते भएका छन् ।
पत्रकार सम्मेलन गरि चौधरीका छोरा ठेक्का पट्टा व्यवसायी अनिल चौधरीले बताए अनुसार मंगलवार राती ढल्केवरवाट महेन्द्रनगर आउने क्रममा नक्टाझिज स्थित ढाठमा रोकेर उनका भाई शुसिल चौधरीलाई वसन्त यादव सहितका व्यक्तिले रोकेर जबरजस्ती बियर मुखमा हाल्न खोजेको र नमाने पछि कुटपिट गरिएको थियो । त्यसपछि उनका पिता राजदेवलाई बुधवार विहान मेयर योगेन्द्र पजियारले फोन गरेर धम्काएको र साँझ बसन्त यादव सहित प्रदिप यादव, सनोज यादव, सितेश झा, अनिल यादव, शुनिल यादव र रामपुकार यादव सहित करिव ५० जना आएर पसलमा धमाधम तोडफोड गर्दै बुवा चौधरी सहित कर्मचारी शम्भु श्रेष्ठ र ध्रमेन्द्र महतो सहित माथी संघातिक आक्रमण गरेका थिए ।

राजदेवलाई उपचारका लागि महेन्द्रनगरको हेल्थकेयरमा लग्दा त्यहाँवाट पनि निकालि दिएको र खवर गरेपनि प्रहरी नआएको उनीहरुको आरोप छ । घटना साँझ ८ बजे तिर भएको र आक्रमणकारी छ बजे तिर आउनु भन्दा आगाडी नै बसन्त यादवले घरमै आएर पिटने धम्की दिएको उनले बताए । आफुहरुले घटना अगाडि नै प्रहरीलाई खवर गरेपनि प्रह्री नआएको उनीहरुको भनाई छ । मेयर पक्षले आफुहरु माथी आक्रमण गरेको उनीहरुको आरोप छ ।
मेयर पजियारले भने, ‘ढाठमा गएर दादागिरी गर्न पाइन्छ ?’
यस विषयमा मेयर पजियारसंग बुझदा उनले आश्चर्य व्यक्त गरेका छन् । मेयर पजियारले मंगलवार राती अनिलका भाई शुसिल आफै ढाठमा पुगेर त्यहाँ रहेका आफनो मान्छेहरुलाई कुटपिट गरेको बताए । शुसिल पटक पटक त्यसो गरे, मेयर पजियारले भने, ‘हामी हदै बर्दास्त गरयौं, तर हिजो हाम्रो मान्छे सडकवाट जाने क्रममा रोकेर हातपात भएपछि एतावाट पनि हातपात भएको हो ।’ झगडाको क्रममा आफनो पक्षको समेत ३ जना र केहि सुरक्षाकर्मी समेत घाइते भएको उनको भनाई छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपिक रायका अनुसार दुई पक्ष बिच झडप भएको स्वीकार गर्दै प्रहरी घटना स्थल पुगेर अवस्था समान्य पारेको बताए । उनले घटनामा कुनै कसैको विरुद्व कुनै पक्षले उजुरी विहिवार साँझ सम्म लिएर नआएको बताए । झगडा छोडाउने क्रममा सुरक्षाकर्मीलाई समेत समान्य चोटपटक लागेको उनले बताए ।